काठमाडौँ
नौबिसे गाविस वडा नं. ७ स्थित पाठक गाउँमा महिलालाई मात्र टोक्ने अज्ञात विषालु कीराले टोक्ने क्रम बढ्दै गएपछि स्थानीय बासिन्दामा आतंक छाएको छ। उक्त कीराले टोक्नाले तिहारसम्ममा एकजना महिलाको मृत्यु भएको थियो भने तीनजना सिकिस्त भएका छन्। कीराको टोकाइबाट केदार भट्टकी श्रीमतीको मृत्यु भएको थियो । सोही कीराले टोकेका दुई जनाको काठमाडौँको टेकु अस्पतालमा उपचार भइरहेको छ । जङ्गलमा घाँसदाउराका लागि जङ्गल जाने महिलालाई मात्र टोक्ने उक्त कीराको टोकाइपछि अरिङ्गालले टोकेजस्तो पीडा हुने टोकेको ठाउँ सुन्निदै जाने , बान्ता भई मूर्छा पर्ने र बिरामीको रगत परीक्षण गर्दा रगतमा विषको मात्रा देखिने बताइएको छ ।