काठमाडौ
काठमाडौको सुरक्षा व्यवस्था अबदेखि महानगरीय प्रहरीले गर्ने भएको छ । गत कात्तिक ३ गतेको मन्त्रिपरिषदको निर्णय बमोजिम काठमाडौ महानगरपालिकामा महानगरीय प्रहरी व्यवस्था लागू गर्न लागिएको हो । यसै सम्बन्धमा जानकारी दिन प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक ओम विक्रम राणाले सम्भव भएसम्म यही मंसिर १ गतेदेखि महानगरीय प्रहरी व्यवस्था लागू गरिने बताएका छन् । विश्वका अन्य सुरक्षित मुलुकहरुमा महानगरीय प्रहरी व्यवस्था लागू भए अनुसार नेपालमा बढ्दो सहरीकरणसँगै अपराध नियन्त्रणका लागि यो व्यवस्था लागू गर्न लागिएको जनाइएको छ ।
पत्रकार सम्मेलनमा महानिरीक्षक राणाले यो व्यवस्था पाँच चरणमा लागू हुने जानकारी दिदै यसमा कुल जनशक्ति १३ हजार ५२ जना रहनेमा उपत्यकामा अहिले ५ हजार ३ सय ४० प्रहरी कार्यरत रहेका छन् । यो व्यवस्था लागू भएपछि महानगरीय प्रहरी प्रमूखलाई प्रहरी आयुक्त भनिने जसलाई हातहतियार राख्ने , होटल रेष्टुराँ सञ्चालन गर्ने लगायतका अनुमति दिने अधिकार रहनुपर्ने नेपाल प्रहरीले प्रस्ताव गरेको छ ।
त्यस्तै जिल्ला प्रशासन अधिकारीमा रहने कतिपय अर्ध न्यायिक अधिकारहरु पनि प्रहरी आयुक्तमा सारी एकात्मक नेतृत्व दिनुपर्ने नेपाल प्रहरीको प्रस्ताव रहेको छ । पत्रपत्रिका दर्ता तथा सञ्चालन , चलचित्रको सेन्सरसिप गर्ने जस्ता अधिकार पनि आयुक्तमा रहनुपर्ने प्रस्ताव गरिएको छ । यसको संगठनात्मक स्वरुपमा प्रहरी एसपीको नेतृत्वमा प्रहरी परिषद रहने यस अन्तर्गत डीएसपीको नेतृत्वमा महानगरीय प्रहरीवृत्त तथा प्रहरी निरीक्षकको नेतृत्वमा महानगरीय प्रहरी विभाग रहने गरी प्रहरी महानिरीक्षक राणाले जानकारी दिएका छन् ।
अत्याधुनिक उपकरणसहितको कन्ट्रोल रुम स्थापना गरिने र राजधानीका विभिन्न स्थानबाट ५० वटा सीसी टीभीसहित प्रहरीको गाडी २४ घण्टा तैनाथ गरिने पनि जानकारी छ
साथै गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ सय ७२ अपराधिक घटना भएको तथ्यांक पनि त्यस बखत सार्वजनिक गरीएको थियो । अहिले राजधानीमा माओवादीले समानान्तर रुपमा सुरक्षा व्यवस्थाको नाममा आफ्नो क्रियाकलाप जारी राखेको तथा अनुसन्धानको नाममा विभिन्न व्यक्तिहरुलाई यातना दिने गरेकोप्रति प्रहरी प्रशासन किन मौन छ भन्ने जिज्ञासामा प्रहरी प्रमुख राणाले यस्ता ज्यादत्तिका घटनाबारे आफूहरुलाई पत्रपत्रिकाबाट मात्रै जानकारी आएको र पीडितहरुले अहिलेसम्म रिपोर्ट नगरेको हुँदा त्यस बारे थप कारवाही गर्न नसकिएको हो ।