काठमाडौ
नेपालको राजदरवारले लामो समयदेखि बेलायती सेना नेपालीलाई पठाए बापत ठूलो रकम हात लगाउने गरेको रहस्य सार्वजनिक भएको छ ।
नेपालमा समेत अत्याधिक जग्गा राखेको र बिभिन्न उद्योगमा राज्यलाई कर समेत नतिरी लगानी गरेको आरोप लागेको नेपाली राजदरवारले अर्को बिवादस्पद ढंगले रकम बुझेको रहस्य आइतवार खुलेको छ ।
परराष्ट्र तथा मानवअधिकार समितिसाग आइतबार भएको छलफलमा संयुक्त गोरखा भूतपूर्व सैनिक सङ्घका प्रतिनिधिहरूले प्रत्येक वर्ष बेलायतले नेपाली राजदरबारलाई १० लाख पाउण्ड दिने गरेको रहस्य खोलेका छन् । उनीहरूले प्रत्येक वर्ष बेलायती सैनिकका बि्रगेडियर स्वयम् आई राजालाई उक्त रकम बुझाउने गरेको दाबीसमेत गरे । यसअघि प्राकृतिक स्रोत तथा साधन समितीले राजा र राजपरिवारका नाममा रहेका हज्जारौ बिगा जग्गा र दर्जनौ उद्योगमा लगानी रहेको खुलासा गरिसकेको छ भने अझै खोज्ने काम जारी रहेको छ। समितिका सदस्य सुरेश कार्कीले गोर्खा सैनिकहरूको दावीका विषयमा छलफल गरेर निष्कर्षमा पुगिने बताएका छन् । भूतपूर्व सैनिकहरूले आफ्ना समस्यालाई लिएर बनाएको वृत्तचित्रको अध्ययनपछि थप अन्य विषयमा पनि छलफल गरिने बताएका छन् ।